हिउँदे अधिवेशनमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छ : कानूनमन्त्री

नेपालभ्युज

हिउँदे अधिवेशनमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियाले संसद्को आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताएका हुन् ।

उनले भने, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’

अध्यक्ष डा केसीले गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि अनुरोध गरे ।

जवाफमा मन्त्री चौरसियाले भने, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाल, नेपाली भाषा, र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल भइरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved