काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव शर्माले अब परम्परागत ढङ्गले पार्टी अगाडि बढ्न नसक्ने भन्दै नाम र चुनाव चिन्ह परिवर्तन गरेर नयाँ रूपमा जानु पर्ने बताए ।
उपमहासचिव शर्माले पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन पनि प्रस्ताव गरेका छन् ।
धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले नेताहरूको सम्पत्ति छानबिन गर्न आवश्यक रहेकाले त्यसका लागि आयोग गठन गर्नुपर्ने बताएका थिए ।
उपमहासचिव शर्माले आफूले अध्यक्षको प्रतिवेदनको समर्थन गरेको भन्दै अगाडि थपे, ‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । पार्टी पुँजीवादकै दलदलमा फसेको छ । संविधान निर्माणपछि हामी कहाँ अल्मलियौँ त्यसको पनि समीक्षा गरौं ।’
शर्माले अब पार्टीको महाधिवेशन घोषणा गरेर अघि बढ्न पनि प्रस्ताव गरेका छन् । उनले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नसमेत प्रस्ताव गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
बैठका उठेका प्रश्नको अध्यक्ष प्रचण्डले आज जवाफ दिने कार्यक्रम छ । माओवादीको बैठक आजै सकिने बताइएको छ ।
Facebook Comment
Comment