ट्रुडोको राजीनामापछि क्यानडामा राजनीतिक सङ्कट, को बन्ला नयाँ प्रधानमन्त्री ?
नेपालभ्युज
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रुडोले राजीनामाको घोषणा गरेर पार्टीको नयाँ नेता चुनिएपछि प्रधानमन्त्री पद पनि छाड्ने बताएका हुन् ।
उनले भने, ”घरमै लड्नुपर्यो भने आगामी चुनावमा म राम्रो विकल्प बन्न सक्दिनँ । म आफूलाई लडाकुको रूपमा व्याख्या गर्छु । म क्यानेडियनहरूको गहिरो ख्याल राख्छु । म सधैँ क्यानडाका जनताको भलाइको लागि काम गर्नेछु ।”
ट्रुडो आफ्नो उत्तराधिकारी चयन नभएसम्म प्रधानमन्त्री पदमा रहनेछन् । उनको सरकारको कार्यकाल अक्टोबरसम्म थियो ।
राजीनामा दिएपछि छिट्टै निर्वाचन हुनसक्ने आकलन गरिएको छ । उनी नोभेम्बर २०१५ देखि देशको प्रधानमन्त्री थिए ।
ट्रुडोले किन राजीनामा दिनुपर्यो ?
ट्रुडोलाई उनको लिबरल पार्टीका सांसदहरूले केही महिनादेखि राजीनामाको दबाब दिएका थिए । जसका कारण ट्रुडो एक्लिँदै गएका थिए ।
क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले डिसेम्बर १६ मा पदबाट राजीनामा दिएकी छन् । क्रिस्टियाले ट्रुडोले आफूलाई अर्थमन्त्रीको पद छोडेर अर्को मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको आरोप लगाएकी थिइन् ।
उनले केही समयदेखि ट्रुडो र आफू निर्णयमा सहमत हुन नसकेको बताइन् । क्रिस्टियालाई लामो समयदेखि ट्रुडोको सबैभन्दा प्रभावशाली र वफादार मन्त्री मानिन्थ्यो ।
हालै क्रिस्टियाले ट्रुडोले नागरिकलाई रकम दिने निर्णयप्रति असहमति जनाएकी थिइन् । उनले भनेकी थिइन् – ”क्यानडाले अमेरिकामा निर्यातमा कर लगाउने खतराको सामना गरिरहेको छ । यस्तो अवस्थामा धेरै खर्च गर्नबाट बच्नुपर्छ ।”
पार्टीका अधिकांश सांसदले ट्रुडोलाई राजीनामा दिन दबाब दिइरहेका थिए । ट्रुडोको पार्टीका २४ सांसदले अक्टोबरमा सार्वजनिक रूपमा उनको राजीनामा माग गरेका थिए ।
लिबरल पार्टीको शीर्ष नेता चयन गर्न विशेष अधिवेशन बोलाइएको छ । यो प्रक्रिया महिनौ लम्बिन सक्छ ।
अब के हुन्छ ?
संसद्को सत्र जनवरी २७ मा सुरु हुने थियो तर, ट्रूडोले भने – यो अब मार्चमा हुनेछ ।
लिबरल पार्टीले अधिवेशन सुरु हुनेबित्तिकै अविश्वासको मतको सामना गर्नुपर्ने हुनसक्छ । लिबरल पार्टी पहिले नै अल्पमतमा छ ।
ट्रूडोले अन्तिम चरणको निर्वाचनमा अन्य दलबाट समर्थन पाउने आशा कमै छ । यस्तो अवस्थामा लिबरल सरकारले मार्चमा नै विश्वासको मत गुमाउन सक्छ ।
क्यानडाको संसद् हाउस अफ कमन्समा लिबरल पार्टीका १ सय ५३ सांसद छन् । हाउस अफ कमन्समा ३३८ सिट छ । यसमा बहुमतको आङ्कडा १७० हो ।
गत वर्ष ट्रुडो सरकारको सहयोगी न्यू डेमोक्र्याटिक पार्टी (एनडीपी) ले आफ्ना २५ सांसदको समर्थन फिर्ता लिएको थियो । एनडीपी खालिस्तान समर्थक क्यानेडियन सिख सांसद जगमीत सिंहको पार्टी हो ।
गठबन्धन टुटेको कारण ट्रुडो सरकार अल्पमतमा परेको थियो । तर, अक्टोबर १ मा भएको बहुमत परीक्षणमा ट्रुडोको लिबरल पार्टीले अर्को पार्टीको समर्थन पाएको थियो । जसका कारण ट्रुडोले फ्लोर टेस्ट पास गरे । विपक्षी कन्जरभेटिभ पार्टीसँग १२० सिट छ ।
तर, न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)का नेता जगमीत सिंहले प्रधानमन्त्री ट्रुडोविरुद्ध फेरि अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन् ।
जगमीत सिंहले गत महिना भनेका थिए - अर्को महिना अल्पसङ्ख्यक लिबरल सरकारलाई पतन गर्न कदम चालिनेछ, जसका कारण देशमा नयाँ चुनाव गराउन सकियोस् । क्यानडामा जनवरी २७ देखि संसदीय कारबाही सुरु हुनेछ ।
ट्रुडो विरुद्ध किन आक्रोश ?
लगातार बढ्दै गएको मुद्रास्फितिका कारण क्यानडालीमा ट्रुडोविरुद्ध आक्रोश छ ।
यसबाहेक क्यानडामा कट्टरपन्थी शक्तिको उदय, बढ्दो आप्रवासी सङ्ख्या र कोभिड–१९ पछिको अवस्थाका कारण ट्रुडोले केही समयदेखि राजनीतिक चुनौतीको सामना गर्दै आएका छन् ।
गत वर्ष अक्टोबरमा गरिएको इप्सोस सर्वेक्षणमा २८ प्रतिशत क्यानाडालीले ट्रुडो फेरि चुनाव लडेको हेर्न चाहन्थे ।
एङ्गस रीड इन्स्टिच्युटकाअनुसार ट्रुडोको अनुमोदन रेटिङ ३० प्रतिशतमा झरेको छ । अर्कोतर्फ उनलाई मन नपराउनेको सङ्ख्या ६५ प्रतिशत पुगेको छ ।
देशमा भएका धेरै सर्वेक्षणअनुसार क्यानडामा चुनाव भए विपक्षी कन्जरभेटिभ पार्टीले बहुमत ल्याउनसक्छ किनभने बढ्दो मुद्रास्फितिले जनतालाई समस्यामा पारेको छ ।
को बन्ला नयाँ नेता र प्रधानमन्त्री ?
अब लिबरल पार्टीको नयाँ नेता चयनको दौड सुरु भएको छ । लिबरल पार्टीको नयाँ नेताका लागि धेरैको नाम अगाडि आएको छ । त्यहाँ दुई भारतीय मूलका राजनीतिज्ञ पनि छन् ।
जसमा एउटा नाम अनिता आनन्द र अर्को जर्ज चहलको नाम चर्चामा छ । ट्रुडोपछि उनको ठाउँमा धेरै नेता दौडमा छन् । यसमा क्रिस्टिया फ्रिल्याण्ड, मार्क कार्नी, डोमिनिक लेब्ल्याङ्क, मेलानी जोली, फ्रान्कोइस-फिलिप शैम्पेन, क्रिस्टी क्लार्क, अनिता आनन्द र जर्ज चहल पर्छन् ।
उनीहरुमध्ये एक जना लिबरल पार्टीको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको छ । यीमध्ये अनिता र जर्ज भारतीय मूलका क्यानडाली राजनीतिज्ञ हुन् ।
यस्ता छन् दाबेदार –
अनिता आनन्द
अक्सफोर्ड विश्वविद्यालयमा पढेकी अनिता आनन्द ट्रुडोको मन्त्रिपरिषद्मा रक्षा, सार्वजनिक सेवा र खरिदमन्त्री तथा ट्रेजरी बोर्डको अध्यक्षलगायत धेरै उच्च प्रोफाइल भूमिकामा छिन् ।
५७ वर्षिया अनिता रूस-युक्रेन युद्धको बीचमा युक्रेनलाई क्यानडाको सहायता प्रदान गर्ने नेतृत्वका लागि परिचित छन् ।
तमिल बुवा र पञ्जाबी आमाबाट जन्मेकी उनी सन् २०१९ मा सांसदमा निर्वाचित भइन् र तुरुन्तै ट्रुडोको प्रशासनमा सामेल भइन् ।
मेलानी जोली
विदेशमन्त्री मेलानिया जोली सन् २०२१ देखि ट्रुडोको मन्त्रिपरिषद्को प्रमुख अनुहार हुन् ।
४५ वर्षीया वकिलले इजरायल-हमास द्वन्द्व र क्यानेडियन नागरिकहरूको निष्कासनलगायत अन्तर्राष्ट्रिय सङ्कटहरूमा बलियो नेतृत्व देखाएकी छन् ।
अक्सफोर्ड स्नातक जोलीले आफूलाई ट्रुडोले व्यक्तिगत रूपमा राजनीतिमा प्रवेश गर्न प्रोत्साहित गरेको स्वीकार गरेकी छिन् ।
क्रिस्टिया फ्रील्यान्ड
पूर्वपत्रकार तथा तत्कालीन उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले डिसेम्बर २०२४ मा आफ्नो पदबाट राजीनामा दिएर धेरैलाई आश्चर्यचकित पारेकी थिइन् ।
५६ वर्षीया फ्रिल्यान्डले वित्त मन्त्रीको रूपमा पनि काम गरेकी छन् । फ्रिल्याण्ड सन् २०१३ देखि लिबरल पार्टीको एक केन्द्रीय व्यक्तित्व हुन् र व्यापार र आर्थिक नीतिहरूमा महत्त्वपूर्ण भूमिका खेलेकी छन् । उनलाई अब देशको प्रधानमन्त्रीको मुख्य दाबेदार मानिएको छ ।
अन्तर्राष्ट्रिय अनुभव र आर्थिक विशेषज्ञताले उनलाई प्रधानमन्त्री पदका लागि बलियो दाबेदार बनाउँछ ।
गभर्नर मार्क कार्नी
हार्वर्ड विश्वविद्यायलबाट स्नातक तथा बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्गल्याण्डका पूर्वगभर्नर ५९ वर्षीय मार्क कार्नी सम्भावित उत्तराधिकारीको रूपमा छन् ।
यद्यपि कार्नीले सार्वजनिक पदमा कहिल्यै काम गरेनन्, उनले ट्रुडोलाई आर्थिक मामिला र जलवायु नीतिहरूमा सल्लाह दिने गर्दछन् ।
जर्ज चहल
भारतीय मूलका अर्का नेता अल्बर्टाका लिबरल सांसद जर्ज चहल पनि क्यानडाको प्रधानमन्त्री बन्न सक्नेछन् । चहलले गत साता ककसका सहकर्मीलाई पनि पत्र लेखेर यस्तो आग्रह गरेका छन् ।
वकिल र सामुदायिक नेताका रूपमा चहलले क्यालगरी सिटी काउन्सिलरका रूपमा विभिन्न समितिमा काम गरिसकेका छन् । उनी प्राकृतिक स्रोत र सिख ककसको स्थायी समितिको अध्यक्ष पनि हुन् । चहलले पछिल्लो समय ट्रुडोको आलोचना गर्दै आएका छन् ।
फ्रान्कोइस-फिलिप शैम्पेन
उनी हाल विज्ञान र उद्योगमन्त्री छन् । उनी सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेदेखि मन्त्रिपरिषद्मा विभिन्न भूमिका सम्हालेका छन् ।
५४ वर्षिय शैम्पेन ट्रुडोको प्रमुख आर्थिक टोलीको हिस्सा रहनुका साथै विदेश मामिला र अन्तर्राष्ट्रिय व्यापारमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।
Facebook Comment
Comment