६ विमान दुर्घटनामा २३६ जनाको मृत्यु, २०२४ को डिसेम्बर हवाई क्षेत्रका लागि कालो महिना
२०२४ को डिसेम्बर हवाई क्षेत्रका लागि कालो महिना रह्यो । डिसेम्बर १७ देखि २९ सम्म १२ दिनको अन्तरालमा विभिन्न देशमा ६ वटा साना तथा ठूला विमान दुर्घटना भए ।
नेपालभ्युज
१७९ जनाको मृत्यु हुनेगरी दक्षिण कोरियामा भएको विमान दुर्घटना \ तस्वीर : सिन्ह्वा ।
काठमाडौं । सन् २०२४ को डिसेम्बर महिनामा विश्वभर भएका विमान दुर्घटनाका शृङ्खलाले उड्डयन सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ ।
डिसेम्बर १७ मा अमेरिकाको हवाई राज्यमा भएको साना विमान दुर्घटनादेखि डिसेम्बर २९ सम्म विभिन्न देशमा ६ वटा साना तथा ठूला विमान दुर्घटना भए ।
यी घटनाहरूले २०२४ को डिसेम्बरको अन्तिम दुई साता हवाई क्षेत्रका लागि कालो समयको रूपमा चिनाएको छ । तीमध्ये सबैभन्दा ठूलो दुर्घटना आइतबार (२९ डिसेम्बर) दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भयो ।
तथ्याङ्कअनुसार पछिल्लो दुई सातामा ६ स्थानमा ६ वटा विमान दुर्घटनाका शृङ्खला देखिए ।
दक्षिण कोरियामा विनाशकारी दुर्घटना
बैङ्ककबाट चालक दल र यात्रुसहित १८१ जना सवार जेजु एअरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भयो ।
चालक दलका ६ सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई क्याबिनक्रुलाई जीवितै उद्धार गरिएको छ । धावनमार्गमा चिप्लिएको जहाज जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।
कोरियाको यातायात मन्त्रालयकाअनुसार अवतरणका क्रममा जहाजका पाङ्ग्रा (ल्यान्डिङ गियर) नखुल्नुलाई दुर्घटनाको मुख्य कारण अनुमान गरिएको छ ।
अमेरिकी समाचार संस्था ‘सीएनएन’ले विमानस्थलमा परिचालित अग्नि नियन्त्रक तथा उडान विश्लेषकलाई उद्धृत गर्दै ‘ल्यान्डिङ गियर’ खराबीका कारण दुर्घटना भएको उल्लेख गरेको छ ।
विश्वलाई स्तब्ध बनाएको यो घटना दक्षिण कोरियाको इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक हो ।
१७९ जनाको मृत्यु हुनेगरी दक्षिण कोरियामा भएको विमान दुर्घटना । तस्वीर : सिन्ह्वा ।
अजरबैजान एअरलाइन्सको दुर्घटना
दक्षिण कोरियामा दुर्घटना हुनुभन्दा चारदिन अघि डिसेम्बर २५ मा अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना भयो ।
कजाकिस्तानको अक्ताउ विमानस्थलमा आपत्कालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु र कैयौँ घाइते भए । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो ।
खराब मौसम र प्राविधिक समस्याका कारण यो दुर्घटना भएको मानिएको छ । तर, युक्रेनको गुप्तचर निर्देशनालयको गरेको दाबीअनुसार रुसको प्राविधिक हस्तक्षेपका कारण भएको दुर्घटना भएको हो ।
विमान दुर्घटनापछि अजरबैजान एअरलाइन्सले रूसका सात शहरहरूमा उडानहरू स्थगित गरेको छ ।
अजरबैजान एअरलाइन्सको दुर्घटना
ब्राजिलको हृदयविदारक घटना
डिसेम्बर २२ मा ब्राजिलमा निजी विमान दुर्घटनामा एकै परिवारका १० सदस्यको मृत्यु भयो । विमान जमिनमा झर्दै गर्दा घर र पसल ठोक्किन पुगेको थियो । यसले १७ अन्यलाई घाइते बनाएको थियो ।
ब्राजिलका सञ्चारमाध्यमकाअनुसार ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भयो ।
डिसेम्बर २२ मा ब्राजिलमा भएको निजी विमान दुर्घटना
पपुआ न्यूगिनीमा पाँच जनाको मृत्यु
२२ डिसेम्बरमा पपुआ न्यूगिनीमा चार्टर्ड विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । उत्तरी तटीय उड्डयनद्वारा सञ्चालित एक ब्रिटेन नर्मन विमानमा वासु एअरपोर्टबाट ला–नादजाब एयरपोर्टका लागि चार्टर उडानमा थियो ।
सानो भाडाको सो विमानको भोलिपल्ट भग्नावशेष फेला परेको थियो ।
पपुआ न्यूगिनीमा भएको भाडाको विमान दुर्घटना
अर्जेन्टिनामा सानो एअरपोर्ट नजिकै दुर्घटना
१८ डिसेम्बरमा अर्जेन्टिनामा अर्को विमान दुर्घटना भएको थियो, जहाँ दुईजना चालकको ज्यान गएको थियो । अर्जेन्टिनामा रनवे छोटो भएका कारण विमान पर्खाल र रूखमा ठोक्किएको थियो ।
ब्यूनस आयर्स प्रान्तको सान फर्नान्डो सहरमा रहेको एउटा सानो एअरपोर्ट नजिकैको घरमा निजी जेट दुर्घटना भएको हो ।
अर्जेन्टिनामा भएको विमान दुर्घटना
हवाईको त्रासदी
अर्जेन्टिनाको दुर्घटनाको अघिल्लो दिन डिसेम्बर १७ मा अमेरिकाका हवाई राज्यस्थिते होनोलुलुमा प्रशिक्षण उडानका क्रममा कामाका एअरको विमान दुर्घटना भयो ।
जहाँ दुई पाइलटको मृत्यु भयो । एटीसी सञ्चारकाअनुसार विमानले टेक अफ गरेपछि तुरुन्तै नियन्त्रण गुमाएको थियो । त्यसपछि एअरपोर्ट नजिकै रहेको एक भवनमा गएर ठोकियो । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।
हवाई राज्यस्थिते होनोलुलुमा प्रशिक्षण उडानका क्रममा दुर्घटना भएको कामाका एअरको विमान । फोटो- एबीसीन्यूज
सन् २०२४ को डिसेम्बरमा १२ दिनको अन्तरालमा भएका यी दुर्घटनाहरूले उड्डयन सुरक्षाका मापदण्डमाथि गम्भीर प्रश्न उठाएका छन् ।
विश्वलाई स्तब्ध बनाएका यी घटनाले प्रविधिको कमजोरी, खराब मौसम, र मानव त्रुटिजस्ता चुनौतीहरूप्रति पुनः सोच्नुपर्ने आवश्यकता खडा भएको छ ।
सबैजसो दुर्घटनाको कारणमाथि अनुसन्धान जारी छ । तर, यस्ता त्रासदी भविष्यमा रोक्नका लागि तत्काल प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ ।
Facebook Comment
Comment