रास्वपाले भन्यो- पोखराको निषेधित क्षेत्र हटाइयोस्

नेपालभ्युज

रास्वपाले भन्यो- पोखराको निषेधित क्षेत्र हटाइयोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको निषेधित क्षेत्र हटाउन आग्रह गरेको छ ।

रास्वपाका जिल्ला सभापति यदुनाथ अधिकारीले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई  एक ज्ञापनपत्र बुझाउँदै  निषेधित क्षेत्र हटाउन आग्रह गरेका हुन् ।

‘निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन सहिदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको सडकमा सवारी आवागमन समेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित परिरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘अदालती प्रक्रियालाई पूर्णरुपमा सघाउने पार्टी सचिवालयको निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ ।’

निषेधित क्षेत्र तोक्दा पोखराको पर्यटनमै असर परेको रास्वपाले जनाएको  छ ।

‘पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेशको मुख्यमार्गमा नै दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरुको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको छ,’ सभापति अधिकारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘अग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सवसहितका कार्यक्रमहरूलाई समेत मध्येनजर गरी निषेधित क्षेत्र हटाइयोस् ।’

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा कात्तिक २ गते पक्राउ गरेपछि ३ गतेदेखि शहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved