तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैङ्किङ क्षेत्रमा थुप्रिएको तरलता (लगानी योग्य रकम) लगानी गर्ने बेला आएको बताएका छन् ।
मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले पर्यटक आगमन बढिरहेको, रेमिटेन्समार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैङ्किङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको बताएका हुन् ।
उनले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताए । स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब पुँजीको लगानी कम्पनीसमेत स्थापना भएको उनले जानकारी दिए ।
महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले बताए ।
भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत व्यक्त गरे ।
Facebook Comment
Comment