बागमती सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह

नेपालभ्युज

बागमती सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह

मकवानपुर । बागमती प्रदेश सचिवालय हेटौँडामा सोमबार बसेको सर्वदलीय बैठकले प्रदेशको विभिन्न जिल्लामा रहेका राष्ट्रिय गौरवका आयोजना र समानुपातिक योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनेतर्फ बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ ।

प्रदेश सरकारद्वारा चालु आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत गरिएको बजेटमा प्रदेशसभाका सदस्यको मागबमोजिम छुट्याइएको योजना र बजेटको सिलिङमा केही महत्वपूर्ण योजना छुट हुन गएकाले ती योजनालाई सम्भव भएसम्म समावेश गरी कार्यान्वयन गर्न माग गर्दै यहाँ गत असोजमा प्रदेशसभाको बैठकले नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीसहितका दलका नेताहरू छन् ।

कार्यदलका संयोजक चित्रकारले प्रदेशको विभिन्न जिल्लामा गत असोज ११÷१२ गते आएको बाढीपहिरोबाट क्षति भएका पक्की पुल, सडक, खानेपानी, विद्युत्, स्वास्थ चौकी, विद्यालय भवन, खाद्यान्न बाली र पहिरोबाट पीडित भएका व्यक्तिहरूको पुनर्वास योजना ल्याउन प्रतिवेदन तयार गरिएको बताए ।

सर्वदलीय बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी केन्द्र संसदीय दलका नेता शालिग्राम जम्मकट्टेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादी दलका नेता कृष्णप्रसाद शर्मा खनाललगायत सहभागी थिए ।

आजै मुख्यमन्त्री बहादुरसिंह लामालाई कार्यदलद्वारा तयार पारिएको आर्थिक र योजनासहितको प्रतिवेदन हस्तान्तरण गरिएको छ । त्यस अवसरमा मुख्यमन्त्री लामाले प्रतिवेदनमा उल्लेख भएका चालु आर्थिक वर्षभित्र परेका विभिन्न योजना र अन्य केही छुट योजनालाई आर्थिक ऐनको परिधिभित्र रहेर कार्यान्वयन गरिने बताए ।

उनले चालु आर्थिक वर्षलाई छुट्याइएको बजेट सिलिङभित्र छुटेका केही राष्ट्रिय गौरवका आयोजना र समानुपातिक योजनालाई सम्भव भएसम्म समावेश गर्नेतर्फ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्ले र सचिवलगायत पदाधिकारीसँग छलफल गरेर कार्यान्वयन थप कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved