चलचित्र निर्देशक श्याम बेनेगलको निधन

नेपालभ्युज

चलचित्र निर्देशक श्याम बेनेगलको निधन

काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक, पटकथा लेखक तथा निर्माता श्याम बेनेगलको निधन भएको छ ।

मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ ६ः३८ बजे बेनेगलले अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकी छोरी पियाले बुवा बेनेगल लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेको बताइन् । बेनेगलले १४ डिसेम्बरमा नै आफ्नो ९०औं जन्मदिन मनाएका थिए ।

सबैभन्दा बढी राष्ट्रिय पुरस्कार जित्ने कीर्तिमान श्याम बेनेगलको नाममा छ । उनी ८ चलचित्रका लागि यो अवार्डबाट सम्मानित भएका छन् ।

श्याम बेनेगलका फिल्मले भारतीय सिनेमालाई उत्कृष्ट अभिनेता दिए, जसमध्ये नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायाङ्कनकर्ता गोविन्द निहलानी प्रमुख छन् ।

जवाहरलाल नेहरू र सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै उनले दूरदर्शनका लागि ‘यात्रा’, ‘कथा सागर’ र ‘भारत एक खोज’ सिरियलहरू पनि निर्देशन गरेका थिए ।

श्यामले २४ चलचित्र, ४५ वृत्तचित्र र १५ विज्ञापन चलचित्र बनाएका छन् । उनले जुबैदा, द मेकिंग अफ द महात्मा, नेताजी सुभाष चन्द्र बोस: द फोरगटन हिरो, मण्डी, आरोहण, वेलकम टु सज्जनपुर जस्ता दर्जनौं उत्कृष्ट फिल्म निर्देशन गरेका थिए ।

फिल्म उद्योगमा उनको योगदानको लागि, उनलाई सन् १९७६ मा पद्मश्री र १९९१ मा पद्मभूषण सम्मानित गरिएको थियो ।

बेनेगललाई २००५ मा भारतीय सिनेमाको सबैभन्दा ठूलो सम्मान दादासाहेब फाल्के अवार्ड पनि दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved