काठमाडौं । अर्बपति इलोन मस्क राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन् ।
ट्रम्पले अमेरिकी नियमलाई इङ्गित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् ।
एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, “उहाँ राष्ट्रपति हुनुहुने छैन । यो कुरा म तपाईंलाई भन्न सक्छु ।”
“तपाईलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको थिएन”, ट्रम्पले टेस्ला र स्पेस एक्सका मालिकबारे भन्नुभयो, ”उहाँ दक्षिण अफ्रिकामा जन्मिनुभएको थियो ।”
अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि त्यहीँ जन्मेको नागरिक हुनुपर्ने व्यवस्था छ ।
ट्रम्पले विशेष गरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वको सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए।
ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएको देखिन्छ ।
मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा २० करोडभन्दा बढी ‘शुभचिन्तक’लाई यस हप्ता सरकारी कोषको प्रस्ताव बेकार भनेपछि यसले कतिपय रिपब्लिकनलाई समेत क्रुद्ध पारेको थियो ।
Facebook Comment
Comment