काठमाडौं । भारतकाे पञ्जाब र उत्तर प्रदेशका प्रहरी अधिकारीहरूले पिलीभीतमा भएको भिडन्तमा तीन संदिग्ध खालिस्तानी विद्रोही मारिएको बताएका छन् ।
उत्तर प्रदेश (यूपी) र पञ्जाब प्रहरीले पिलीभीतमा संयुक्त अभियान सञ्चालन गरेको अधिकारीहरूले बताए ।
प्रहरीका अनुसार मारिनेहरू पञ्जाबको गुरदासपुरमा रहेको प्रहरी चौकीमा ग्रिनेड हमला गरेको घटनाका आरोपी थिए ।
पिलीभीतका एसपी अविनाश पाण्डेले एएनआईसँग कुरा गर्दै गुरदासपुरमा भएको आक्रमणको सम्बन्धमा पञ्जाब पुलिस पिलिभीत पुगेको बताए ।
पाण्डेका अनुसार तीन संदिग्ध व्यक्ति पिलीभीत शहरतर्फ सरेको खबरपछि प्रहरीले उनीहरूलाई पछ्याएको थियो ।
तीनै जनाले प्रहरीमाथि गोली चलाएको उनले बताए । जवाफी कारबाहीमा ती व्यक्ति घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
अधिकारीहरूका अनुसार संदिग्धहरूबाट २ एके ४७ र २ थान ग्लक पेस्तोल बरामद गरिएको छ । भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार मारिनेहरूको नाम गुरुविन्दर सिंह, जसनप्रीत सिंह र वीरेन्द्र सिंह रहेका छन् ।
पञ्जाब प्रहरीका अनुसार डिसेम्बर १९ मा गुरदासपुरको कलानौरमा रहेको प्रहरी चौकीमा ग्रेनेडले आक्रमण भएको थियो । खलिस्तान जिन्दाबाद फोर्सले यस हमलाको जिम्मेवारी लिएको थियो ।
Facebook Comment
Comment