श्रीलंकाका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमण गर्ने

नेपालभ्युज

श्रीलंकाका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमण गर्ने

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले दुई पक्षीय सम्बन्ध विस्तारका लागि आगामी जनवरीमा चीनको भ्रमण गर्ने भएका छन् ।

कोलम्बोमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएको सन् २०२२ को आर्थिक मन्दीको समयमा श्रीलंकाको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा चीनले ओगटेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको उद्धार प्याकेज प्राप्त गरेपछि र सरकारको बिग्रिएको वित्तीय अवस्थालाई सुधार गर्ने उद्देश्यले मितव्ययिता सुधार लागू गरेपछि यहाँको अर्थतन्त्रमा बिस्तारै सुधारको संकेत आउन थालेका छन् ।

वामपन्थी नेता दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धताका साथ गत सेप्टेम्बरमा सत्तामा आएका थिए । मध्यावधि संसदीय चुनावमा आफ्नो पार्टीले भारी मतान्तरले विजय हासिल गरेपछि उनले नागरिकसामु निर्वाचनका समय गरेका आफ्ना प्रतिवद्धता पुरा गर्न छिमेकी मुलुकहरूको भ्रमण गर्दै कुटनीतिक सम्बन्धलाई थप कसिलो बनाउने अभियान शुरू गरेका छन् । उनले यसै महिना भारतको भ्रमण गरिसकेका छन् ।

“म अर्को महिनाको मध्यतिर चीन जाँदैछु,” उनले पत्रकारसँग भने ।

राष्ट्रप्रमुखको रूपमा दिसानायकेको पहिलो विदेश भ्रमण छिमेकी देश भारतमा भएको थियो । उनलाई डिसेम्बर १६ मा भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

क्षेत्रीय पावरहाउस भारत हिन्द महासागर क्षेत्रमा प्रभाव जमाउन चीनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।

श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त समुद्री ढुवानी मार्गका लागि महत्वपूर्ण मानिन्छ । यो मार्गले मध्य पूर्व र पूर्वी एशियालाई जोड्छ, यसको समुद्री सम्पत्तिलाई रणनीतिक महत्वका साथ हेरिन्छ ।

नयाँ दिल्लीले श्रीलङ्कामा बेइजिङको बढ्दो पकडलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ, जसलाई उसले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको देख्छ ।

फिच रेटिङ्सले शुक्रबार श्रीलङ्काको दीर्घकालीन विदेशी मुद्रा जारी गर्ने ‘डिफल्ट रेटिङ’लाई सीसीसी प्लसमा अपग्रेड गरेको छ ।

फिचले भनेको छ, “ऋण पुनर्संरचनाले सरकारको ऋण सेवाको बोझ र तरलता जोखिमलाई कम गरेको छ, तर सामान्य सरकारी ऋण ÷ कूल गार्हस्थ्य उत्पादन र ब्याजका साथै राजस्व अनुपात मध्यम अवधिमा उच्च रहने सम्भावना रहेको यसले उल्लेख गरेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved