काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पाकिस्तानले आयोजना गर्न लागेको च्याम्पियन्स ट्रफी २०२५ का केही खेल तटस्थ स्थानमा आयोजना गर्ने जनाएको छ ।
भारतले सुरक्षा कारणले त्यहाँ च्याम्पियन्स ट्रफी खेल खेल्न अस्वीकार गरेपछि आईसीसीले पाकिस्तानसँगको खेल तटस्थ स्थानमा खेलाइने बताएको हो ।
च्याम्पियन्स ट्रफी २०२५ का खेलहरू फेब्रुअरी-मार्चमा हुनेछन् । अर्थात् यस प्रतियोगिताका खेलहरू अब पाकिस्तान र तटस्थ स्थानमा खेलाइनेछन् ।
तटस्थ स्थल कुन हो भन्ने जानकारी भने दिइएको छैन ।
च्याम्पियन्स ट्रफीबाहेक आईसीसीको यो व्यवस्था भारतले आयोजना गर्ने महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने पुरुष टी-२० विश्वकप २०२६ को लागि पनि हो ।
आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ । सन् २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
च्याम्पियन्स ट्रफीमा आठ टोली भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।
Facebook Comment
Comment