काठमाडौं । भारतीय लोकसभा सदस्यबीच बाबा साहेब डा. भीमराव अम्बेडकरको योगदान र सम्मानको विषयलाई लिएर विवाद चर्किदै जाँदा स्थिति धक्कामुक्कीसम्म पुगेको छ ।
धक्कामुक्कीमा मूल नेता नै मुछिएका छन् । विपक्षी भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले आफूमाथि धक्कामुक्की भएको र घुँडामा चोट लागेको गुनासो गरेका छन् ।
अर्कोतिर लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले भाजपा सांसद प्रताप सारंगीमाथि धक्कामुक्की गरेको आरोप लगाएका छन् ।
मङ्गलबार राज्यसभाको बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाहले दिएको भाषणको एक अंशलाई लिएर विपक्षी सांसदले आपत्ति जनाएपछि २ दिनदेखि दुबै सदन अवरुद्ध छन् ।
मङ्गलबार राज्यसभामा भएको संविधानबारेको एक भाषणमा गृहमन्त्री शाहले ‘अहिले एक फेसन चलेको छ, अम्बेडकर, अम्बेडकर, अम्बेडकर, अम्बेडकर, अम्बेडकर, यति नाम भगवान्को लिएको भए बरु सात जन्मसम्म स्वर्ग मिल्थ्यो होला’ भनेका थिए ।
लोकसभाका विपक्षी नेता गान्धीले ‘मनुस्मृति मान्नेहरूलाई निसन्देह अम्बेडकरसँग अप्ठ्यारो हुन्छ’ भनेर प्रतिक्रिया दिएका थिए ।
गृहमन्त्रीको यस्तो भाषणले संविधान निर्माताको अपमान भएको भन्दै विपक्षी दलले शाहले माफी नमागुन्ञ्जेलसम्म दुबै सदन चल्न नदिने अडान लिएका छन् ।
बिहीबार बिहान विपक्षी सांसदले तस्वीर बोकेर अम्बेडकरको शालिक देखि संसद् भवनको प्रवेशद्वारसम्म प्रदर्शन गरेका थिए ।
यसक्रममा संसद् भवन प्रवेशद्वारमा आफूमाथि आक्रमण भएको र घुँडामा गम्भीर चोट लागेको भन्दै काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सभामुख ओम बिरलालाई पत्र लेखेका छन् । उनले घटनाको निष्पक्ष छानबिन गराउनसमेत माग गरेका छन् ।
अर्कोतिर प्रवेशद्वारको धक्कामुक्कीमा भाजपा सांसद प्रताप सारंगीलाई चोट लगाएको आरोप राहुल गान्धीमाथि लागेको छ । राहुलले आरोप स्वीकार गर्दै संसद् भवन प्रवेश गर्न पाउने आफ्नो अधिकारलाई भाजपा सांसदले अवरोध गर्न खोज्दा यो स्थिति आएको प्रतिक्रिया दिएका छन् ।
काङ्ग्रेस अध्यक्ष खड्गेले ‘माफी माग्न पर्ने’ भन्दा अझ अघि बढेर गृहमन्त्री अमित शाहले अविलम्ब राजीनामा दिनुपर्ने अन्यथा प्रधानमन्त्री मोदीले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मा लेखेका छन्–‘काङ्ग्रेस अम्बेडकरमाथि नाटक गरिरहेको छ । नेहरूले चुनावमा अम्बेडकरविरुद्ध प्रचार गरेका थिए । उनलाई भारतरत्न दिन काङ्ग्रेसले सधैँ अस्वीकार गरेको थियो । शाहले काङ्ग्रेसको कालो इतिहासलाई उजागर गर्दिएको मात्र हो ।’
Facebook Comment
Comment