रविलाई अदालतमा उपस्थित गराइयो

नेपालभ्युज

रविलाई अदालतमा उपस्थित गराइयो
रवि लामिछाने (फाइल तस्वीर) ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज (मंगलबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीसँगै अन्य चार जनालाई पनि कास्की प्रहरीले आज पोखरास्थित अदालतमा उपस्थित गराएको हो ।

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपको अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित सोही मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लीला पछाईंलाई अदालतमा उपस्थित गराएको छ ।

यसअघि हिरासतमा राख्नलाई लिइएको पाँच दिनको म्याद सकिएसँगै आज फेरि म्याद थपका लागि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायतलाई अदालत लगिएको कास्की प्रहरीले जनाएको छ ।

लामिछानेसहित ५१ जनामाथि अनुसन्धान सकेर प्रहरीले सोमबार बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।

जसमा लामिछानेसँगै, नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलगायत छन् ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन तयार गरेको हो ।

५१ जनालाई प्रतिवादी बनाए पनि ३७ जना प्रतिवादी फरार छन् । १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको प्रहरीले जनाएको छ । सोमबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात् जिल्ला अदालत कास्कीमा दर्ता हुनेछ ।

एक अर्ब ५१ करोड ४० लाख रकममध्ये गोर्खा मिडियामा आएको रकमलाई लामिछानेसहितको जिम्मेवारी भनिएको छ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved