लखतीर्थमा पूर्वमेयर सिंहको अन्त्येष्टि, भाइले दिए दागबत्ती

नेपालभ्युज

लखतीर्थमा पूर्वमेयर सिंहको अन्त्येष्टि, भाइले दिए दागबत्ती

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वनगरप्रमुख (पूर्वमेयर) पीएल सिंहको नेवारी परम्पराअनुसार सोमबार अन्त्येष्टि गरिएको छ ।

महानगरपालिका–१५ स्थित लखतीर्थमा स्वर्गीय सिंहको अन्त्येष्टि गरिएको महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए । स्व सिंहको पार्थिव शरीरमा उनका भाइ इन्द्रलाल सिंहले दागबत्ती दिएका थिए ।

अन्त्येष्टिमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोललगायत वडाध्यक्ष, कार्यपालिका सदस्य एवं महानगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौं महानगरका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा सोमबार राति १ बजे निधन भएको थियो ।

स्व सिंहप्रति सम्मान प्रकट गर्दै सोमबार नै बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यसैगरी पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले पीएल सिंहको शोकमा तीन दिन झण्डा आधा झुकाउने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved