ईशा गुहाले बुमराहलाई ‘प्राइमेट’ भनेपछि…

नेपालभ्युज

ईशा गुहाले बुमराहलाई ‘प्राइमेट’ भनेपछि…

काठमाडौं । इंग्ल्याण्डका पूर्व क्रिकेटर तथा कमेन्टेटर ईशा गुहाले भारतीय फास्ट बलर जसप्रित बुमराहलाई लिएर गरेको विवादास्पद टिप्पणीका लागि माफी मागेकी छिन् ।

गुहाले ब्रिस्बेनमा भारत र अस्ट्रेलियाबीच जारी तेस्रो टेस्टको कमेन्टिङका ​​क्रममा यस्तो टिप्पणी गरेकी थिइन् । त्यस क्रममा उनले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्रेट ली र पूर्वकप्तान एलन बोर्डरसँग कुरा गरिरहेकी थिइन् ।

अस्ट्रेलियाको पहिलो इनिङ्समा बुमराहले उत्कृष्ट बलिङ गरेका थिए । बुमराहको बारेमा भन्ने क्रममा ईशाले उनलाई ‘सबैभन्दा मूल्यवान् प्राइमेट’ भनेकी थिइन् ।

क्रिकेटको बारेमा कुरा गर्दा हामी प्राय: एमभीपी अर्थात् सबैभन्दा मूल्यवान खेलाडीको कुरा गर्छौं । बुमराहलाई लिएर ईशा र ब्रेट लीबीच यस्तै बहस चलिरहेको थियो । तर, बुमराहको सन्दर्भमा ईशाले उनलाई खेलाडीको सट्टा प्राइमेट भनेकी थिइन् । प्राइमेट भनेको वानर हो ।

ईशाको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नुपरेको थियो । धेरैले यसलाई जातीय टिप्पणी भनेका छन् ।

प्राइमेटलाई नेपालीमा २ प्रकारले बुझ्न सकिन्छ । जैविक सन्दर्भमा प्राइमेटलाई एक प्रकारको स्तनधारी जनावरहरूको समूह हो, जसलाई प्राइमेट भन्ने वर्गमा राखिन्छ । यसमा बाँदर, गोरिल्ला, चिम्पान्जी, लंगूर, र मानिस पनि पर्छन् । प्राइमेटहरू ठूलो मस्तिष्क, अगाडि हेर्ने आँखा, र समन्वयका लागि उपयोगी हुने औंला (जस्तै- टुप्पो ठडिने औंला)”जस्ता विशेषताहरूले चिनिन्छन् ।

धार्मिक सन्दर्भमा भने प्राइमेट एउटा धार्मिक पदवी हो, जसले ख्रीष्टियन धर्ममा विशेष गरी केही उच्च पदस्थ बिशपहरूलाई जनाउँछ । यी बिशपहरूले एउटा क्षेत्र वा देशका अन्य बिशपहरूमाथि अधिकार वा सम्मानजनक स्थान पाउँछन् ।

सोमबार कमेन्ट्रीका क्रममा ईशाले आफ्नो कमेन्टको लागि माफी मागेकी छिन् ।

उनले भनिन्, ‘हिजो कमेन्ट्री गर्दा मैले एउटा शब्द प्रयोग गरेँ, जसको धेरै अर्थ लाग्नसक्छ । यदि यो कमेन्टले कसैलाई चोट पुगेको छ भने म माफी चाहन्छु ।’

उनले थप भनिन्, ‘जब अरूको सम्मान वा करुणाको कुरा आउँछ, म आफैंको लागि उच्च मापदण्डहरू सेट गर्छु । यदि तपाईं सम्पूर्ण कमेन्ट्री कुराकानी सुन्नुभयो भने, तपाईंलाई थाहा हुनेछ कि मेरो उद्देश्य भारतको महान् खेलाडीमध्ये एकलाई सम्मान गर्नु हो । बुमराहको प्रशंसा गर्नु थियो । उहाँ एक खेलाडी हुनुहुन्छ, जसको म धेरै प्रशंसा गर्छु ।’

‘म यसका लागि गहिरो दु:खी छु । दक्षिण एसियाली सम्पदा भएकाले मलाई आशा छ कि मानिसहरूले मेरो अरू कुनै नियत वा दुष्टता थिएन भन्ने कुरा बुझ्नेछन् ।’

भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक तथा कमेन्टेटर रवि शास्त्रीले ईशाको माफीको प्रशंसा गर्दै अब यो विषयलाई यहीँ छाडेर अघि बढ्नुपर्ने अपिल गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved