काठमाडौं । ‘बम बहादुर’ पुस ५ गतदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा आइतबार फिल्म युनिटले पूर्वी नेपालको इटहरीमा पत्रकार भेटघाट गर्दै फिल्मका बारेमा जानकारी दिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा अभिनेता सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास गरे । ‘स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन’, मल्लले भने ‘नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ ।’
लेखक तथा निर्देशक जोन राईले चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए । उनले भने , ‘चलचित्रको अर्को उद्देश्य भनेको अब गोर्खाल्याण्ड जस्तो आन्दोलन नहोस् । विभिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’
चलचित्रकी नायिका अनिशा रसाइलीले यो चलचित्रले सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन् । ‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो’, उनले थपिन् ‘मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् ।’
कलाकार शान्तिला तामाङले यस चलचित्रबाट आफूले ठुलो आशा बोकेको बताइन् । दार्जिलिङ निवासी उनले नेपाललाई दुख्दा आफूलाई पनि दुख्ने बताइन् ।
कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति थियो ।‘बम बहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको निर्माण पक्षले दाबी गरेको छ ।
यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको जानकारी दिइयो ।
Facebook Comment
Comment