काठमाडौं । चलचित्र विकास बोर्डले गैरकानुनी रुपमा सञ्चालनमा रहेका सिरहासहितका आठवटा जिल्लाका चलचित्र भवन (फिल्म हल)को विषयमा जिल्ला प्रशासन कार्यालय र कर कार्यालयलाई पत्र लेखेर जानकारी गराएपछि नवीकरण र बक्सअफिसमा जडान नभएका चलचित्र भवन कानुनी प्रक्रियामा आएको जनाएको छ ।
बोर्डका अध्यक्ष दिनेश डीसीले गण्डकी प्रदेशअन्तर्गतका चलचित्र भवनको अनुगमन सकिएको जानकारी दिँदै आफू र बोर्डको उद्देश्य चलचित्र भवन बन्द गर्नु नरहेको स्पष्ट पारे । उनले भने, ‘पछिल्लो साता दिनदेखि म आफैँ चलचित्र भवनको अनुगमनमा थिएँ । बोर्डमा दर्ता नभएका, सरकारलाई कर नतिरिरहेका र त्यहाँ प्रदर्शन भएका चलचित्रको व्यापार बक्सअफिसमा नदेखिने चलचित्र भवनलाई कानुनी दायरामा ल्याउने हाम्रो उद्देश्य हो । प्रक्रियागत रुपमा ठीक नभए चलचित्र भवन बन्दको विकल्प छैन ।’
अध्यक्ष डीसीले चलचित्र विकास शुल्क नतिरेको र लुकीछिपी चलाइएका केही चलचित्र भवनलाई कारबाही गरिएको जानकारी दिए । गत साता सिराहस्थित बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनको सहयोगमा तालाबन्दी गरिएको छ । ‘हाम्रो उद्देश्य ती गैरकानुनी रुपमा रहेका चलचित्र भवन बन्द गर्नु नभई कानुनी प्रक्रियामा ल्याएर सञ्चालन गर्न दिनु हो । उहाँहरू अटेरी हुनुभयो भने हामी निर्विकल्प हुन्छौँ । यद्यपि यो सातासम्म सबै प्रक्रियामा आउने बताउनुभएको छ,’ अध्यक्ष डीसीले भने ।
सरकारलाई कर छली गरिरहेका र निर्मातालाई समेत व्यापारको विषयमा जानकारी नहुने चलचित्र भवनलाई कुनै बहानामा नछाड्ने र कानुनी दायरामा ल्याउने उनले बताए ।
Facebook Comment
Comment