काठमाडौं । सिरियामा विद्रोही समूहले सरकारविरुद्ध विगत केही वर्षयताकै सबैभन्दा ठूलो कारबाही सुरु गरेका छन् ।
सिरियाली सेना द्रुत गतिमा पछाडि हट्न थालेपछि विद्रोहीहरूले देशको दोस्रो ठूलो शहर एलेप्पो समेत उत्तर–पश्चिमको भाग कब्जा गरेका छन् । यसपछि विद्रोही सेनाहरू दक्षिणतिर गए र हामा शहरलाई पनि आफ्नो कब्जामा लिएका छन् ।
आफूहरूको अर्को लक्ष्य होम्स शहर हुने विद्रोही सेनाको भनाइ छ । दक्षिणमा जोर्डनको सीमा नजिकै स्थानीय विद्रोही समूहहरूले देरा क्षेत्रको धेरैजसो भाग आफ्नो नियन्त्रणमा लिएका छन् । यो त्यही ठाउँ हो, जहाँ सन् २०११ मा राष्ट्रपति बशर अल–असदविरुद्ध विद्रोहको जन्म भएको थियो ।
किन भइरहेको छ द्वन्द्व ?
सन् २०११ मा राष्ट्रपति बशर अल–असदविरुद्ध शान्तिपूर्ण र लोकतन्त्र समर्थक विद्रोह गृहयुद्धमा परिणत भयो । यसले सिरियालाई ध्वस्त पार्यो । यो विद्रोहमा क्षेत्रीय र विश्व शक्तिहरू पनि संलग्न थिए । त्यसयता यस द्वन्द्वमा पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।
एक करोड २० लाख मानिस घर छोड्न बाध्य भएका छन् । तीमध्ये करिब ५० लाख मानिस अहिले या त शरणार्थी छन् वा विदेशमा शरण खोजिरहेका छन् ।
विद्रोहीले आक्रमण गर्नुअघि असद सरकारले रुस, इरान र इरान समर्थित मिलिसियाको सहयोगमा देशका धेरै शहरहरू आफ्नो नियन्त्रणमा लिएपछि युद्ध समाप्त भएको जस्तो देखिएको थियो ।
तर, देशका केही ठूला भागहरू अझै पनि सरकारको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिर नै थियो । यसमा अमेरिका समर्थित कुर्दिश नेतृत्वको सशस्त्र समूहको नियन्त्रण रहेको उत्तरी र पूर्वी क्षेत्रहरू पनि पर्छन् । विद्रोहीहरू कब्जामा आउन बाँकी गढ उत्तरपश्चिमी प्रान्तहरू एलेप्पो र इडलिबमा पनि थिए ।
उत्तरपश्चिमी क्षेत्रमा इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस)को प्रभुत्व रहेको छ । तर, सिरियन नेशनल आर्मी (एसएनए) भनेर चिनिने टर्की समर्थित विद्रोही समूहले टर्की सेनाको सहयोगमा उक्त क्षेत्र कब्जामा लिइरहेका थिए ।
के हो हयात तहरीर अल–शाम ?
हयात तहरीर अल–शाम (एचटीएस) अल–नसरा फ्रन्टको नामबाट गठन भएको थियो । गठन भएलगत्तै अर्को वर्ष समूहले अल–कायदाप्रति आफ्नो निष्ठाको राख्ने प्रतिज्ञा गर्यो ।
सिरियाली राष्ट्रपति बशर अल–असद विरुद्ध लडिरहेका सबै विद्रोही समूहहरूमध्ये अल–नसरा फ्रन्ट सबैभन्दा घातक र प्रभावकारी थियो । तर, यो समूह क्रान्तिको उत्साहले भन्दा जिहादी विचारबाट प्रेरित भएको देखिन्छ । यसको मनोवृत्ति धेरै पटक विद्रोहीहरूको मुख्य गठबन्धन फ्री-सिरियन आर्मीसँगको द्वन्द्वको कारण पनि बन्यो ।
सन् २०१६ मा अल–नासराले अल–कायदासँग आफ्नो सम्बन्ध तोड्यो र एक वर्ष पछि अन्य विद्रोही समूहहरूमा विलयको समयमा यसको नाम हयात तहरीर अल–शाम राखियो ।
अमेरिका, बेलायत र अन्य धेरै देशहरू अझै पनि एचटीएसलाई अल–कायदाको सहयोगी ठान्छन् र प्रायः यसलाई अल–नसरा फ्रन्ट भन्छन् ।
इडलिब र अलेप्पोमा आफ्ना प्रतिद्वन्द्वी अल–कायदा र इस्लामिक स्टेटका एकाइहरूलाई कुल्चदै एचटीएसले त्यहाँ पर्याप्त ताकत बटुलेको छ । यस क्षेत्रमा शासन गर्न उसले कथित रूपमा सिरियाली मुक्ति सरकार पनि गठन गरेको बताइएको छ ।
एचटीएसको अन्तिम लक्ष्य असदको पतन र इस्लामिक सरकारको स्थापना हो । तर, यस अघिसम्म यसले ठूलो मात्रामा द्वन्द्व सुरु गर्ने प्रयास गर्यो, अनि असदको शक्तिलाई फेरि चुनौती दिन बचिरह्यो । तर, अब एचटीएसका नेता अबु मोहम्मद अल जुलानीले सीएनएनसँगको अन्तर्वार्तामा विद्रोहीको लक्ष्य असदको शासन अन्त्य गर्नुरहेको बताएका छन् ।
सिरिया र यसका सहयोगी के भन्छन् ?
राष्ट्रपति बशर अल–असदले विद्रोहीहरूलाई धुलो पिठो पार्ने वाचा गरेका छन् । उनीहरूलाई असदले ‘आतङ्कवादी’ भनिरहेका छन् ।
डिसेम्बर २ मा इरानी राष्ट्रपति मसुद पेजिस्कियानसँग फोनमा कुराकानी गर्दा उनले अमेरिका र पश्चिमी देशहरूलाई युद्ध उक्साएको आरोप पनि लगाए । पश्चिमी मुलुकहरूले यस क्षेत्रको ‘नक्सा परिवर्तन’ गर्न चाहेको उनको अरोप थियो ।
आफ्नो देश सिरियाली सरकार र त्यहाँका जनताको साथमा दृढताका साथ उभिएको यस कुराकानीका क्रममा इरानका राष्ट्रपतिले भनेका थिए । सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता कायम राख्नु नै यस क्षेत्रको रणनीतिको आधार रहेको उनले बताएका थिए ।
अलेप्पो वरपरको अवस्थालाई सिरियाको सार्वभौमसत्तामाथि आक्रमण भएको रुसले ठानेको त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले बताएका थिए ।
सिरियाली सरकारले यस क्षेत्रमा जतिसक्दो चाँडो स्थिति सामान्य बनाउन र संवैधानिक व्यवस्था पुनर्स्थापित गरोस् भन्ने आफूले चाहेको पनि उनले बताए । रुसले शुक्रबार सिरियामा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको थियो ।
असद परिवारको ५० वर्षे शासनको अन्त्य
असदलाई सत्ताबाट हटाएसँगै सिरियामा ५४ वर्ष लामो असद परिवारको शासनको अन्त्य भएको छ । बशरका बुबा हाफेज अल-असद सन् १९७१ मा सिरियाको राष्ट्रपति बने र त्यसपछिको २९ वर्षसम्म सिरियाको राष्ट्रपति रहे ।
सन् २००० मा हाफिजको मृत्युपछि बशरले सिरियाको सत्ता हातमा लिएका थिए । त्यसयता बशर सिरियाका राष्ट्रपति थिए । सन् २०११ मा मध्यपूर्वमा अरब वसन्त सुरु भएसँगै सिरियामा पनि असदविरुद्ध विद्रोह सुरु भयो, जसलाई क्रुरतापूर्वक कुचलियो । त्यसपछि त्यहाँ गृहयुद्ध सुरु भयो ।
अब बशरले देश छोडेपछि विद्रोहीले एउटा भिडियो जारी गर्दै देशमा असद परिवारको कालो युग समाप्त भएको बताएका छन् । हामी देशमा नयाँ युगको शुरुवातको घोषणा गर्दछौं ।
वर्चस्वका लागि लडाइँ
यूएस इन्स्टिच्युट अफ पिसकी प्राध्यापक मोना याकुबियन भन्छिन् – यो पश्चिम एसियामा वर्चस्वको लागि लडाइँ हो । सिरिया भूराजनीतिक रूपमा महत्त्वपूर्ण छ । यो इराक, टर्की, जोर्डन, लेबनान र इजरायल जस्ता देशहरूसँग सीमा जोडिएको छ ।
सिरियामाथिको नियन्त्रणले अत्यावश्यक व्यापारिक मार्गहरू, ऊर्जा कोरिडोरहरू र क्षेत्रभरि प्रभाव पार्ने आधारमा पहुँच प्रदान गर्दछ ।
विद्रोहले रूसलाई ठूलो प्रभाव पार्नेछ । सिरिया पश्चिमी एसियामा यसको सबैभन्दा भरपर्दो साझेदार हो । साथै, सन् २०११ मा बशरविरुद्धको विद्रोहपछि रुसले बशरलाई सबै प्रकारको सैन्य, आर्थिक र रणनीतिक सहयोग गर्दै आएको छ । यसै कारण रुस बशर सत्तामा रहोस् भन्ने चाहन्छ ।
विद्रोहीलाई अमेरिकी समर्थन पनि छ । यस्तो अवस्थामा बशर गएमा रुसका लागि ठूलो घाटा हुनेछ ।
सम्बन्धित सामग्री-
अल-जुलानी : जसले अन्त्य गरे असदको २४ वर्षे शासन
Facebook Comment
Comment