काठमाडौं । सिरियाली विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरेका छन् ।
सिरियामा विद्रोहीहरूले केही वर्षयताकै भयानक आक्रमण शनिबारदेखि जारी राखेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस आक्रमणबाट राष्ट्रपति बशर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ ।
सिरियाका विद्रोही समूह राजधानी दमास्कस कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेको बताइएको छ ।
राष्ट्रपति असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएको थियो । सो गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि यही नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्र असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ । यससँगै सिरियाको द्वन्द्वले नयाँ रुप लिएको थियो । अहिले त्यो उत्कर्षमा पुगेको छ ।
विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दाबी गर्दै भने ‘हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।’
यसअघि उनले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताएका थिए ।
एचटीएसका नेता अबु मोहम्मद अल–जोलानीको सट्टा आफ्नो वास्तविक नाम अहमद अल–शरा प्रयोग गरी शनिबार टेलिग्राममा विद्रोही लडाकुहरूलाई सम्बोधन गर्दै भने, ‘दमास्कस तपाईंहरूलाई पर्खिरहेको छ ।’
भागेको भन्ने आरोपप्रति सेनाको खण्डन
सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर)ले दमास्कसबाट करिब १० किलोमिटरको दूरीमा रहेको सहरबाट सरकारी सेना फिर्ता हुन लागेको जनाएको छ ।
यता राष्ट्रपति असदप्रति वफादार रहेको सिरियाली रक्षा मन्त्रालयले सेना आफ्नो स्थानबाट भागेको अस्वीकार गरेको छ ।
‘दमास्कस ग्रामीण क्षेत्रमा रहेका हाम्रा सशस्त्र सेना फिर्ता भएको भन्ने समाचारमा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ ।
छिमेकी देश इराकका सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार सिरियाली सेनाका सयौँ सैनिकलाई सीमा पार गर्न अनुमति दिइएको छ ।
राष्ट्रपति असदको सेनाका सैनिकहरू ‘लडाईँस्थलबाट भागेर’ अल–कैम सीमा नाका हुँदै इराक प्रवेश गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले बताए ।
दोस्रो स्रोतले अधिकारीहरूसहित करिब दुई हजार सैनिक इराकतर्फ भागेको आँकडा दिएको छ र उनीहरू इराकी अधिकारीहरूको अनुमतिमा इराक प्रवेश गरेका थिए ।
यसैबीच, टर्कीए, इरान र रुसका विदेशमन्त्रीले कतारको दोहामा सिरियाली सरकार र वैध विपक्षी समूहबीच राजनीतिक संवाद सुरु गर्न सहमति भएको इरानका उच्च कूटनीतिज्ञ अब्बास अरागचीले जानकारी दिए ।
सन् २०१७ देखि कजाकिस्तानको अस्तानामा सिरियामा राजनीतिक समाधानका लागि भएको वार्तामा यी तीन देश सहभागी हुँदै आएका छन् ।
रुस र टर्कीएले सिरियाको उत्तरपश्चिमी इदलिब क्षेत्रमा सन् २०२० मा युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।
Facebook Comment
Comment