काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।
पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
यसैबीच लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई नतिजा सुम्पिएको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको थियो ।
यसर्थ लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा मैदानमा उत्रनेछ ।
लुम्बिनीको कप्तानी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितले गरिरहेका छन् । यसैगरी सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।
त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
Facebook Comment
Comment