कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनबारीमा भएको बडायक दम्पती हत्याकाण्डमा संलग्न भएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।
घटनाको करिब एक महिनापछि स्थानीय ५० वर्षीय गंगाबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र केसीले रानाको पक्राउ पुष्टि गरेका छन् । कञ्चनपुर जिल्ला अदालतले उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रारम्भिक अनुसन्धानले दम्पतीको हत्या लुटपाटका लागि नभई मदिरा सेवनपछिको विवादका कारण भएको खुलासा गरेको छ ।
प्रहरीका अनुसार रानालाई चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
गत कात्तिक ८ गते बिहान रमेश बडायक र उनकी श्रीमती कमला आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । रमेशको शव आँगनमा र कमलाको शव बरण्डामा सुतेकै अवस्थामा थियो ।
दुबैको टाउकोमा धारिलो हतियार प्रहार गरिएको थियो ।
Facebook Comment
Comment