काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बिहीबार) पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदान मंसिर १५ गतेदेखि जारी एनपीएलअन्तर्गत आजकाे पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल बिहान ९ बजेपछि सुरु हुँदैछ ।
आज दिउँसो १ बजेपछि हुने अर्को खेलमा दोस्रो खेलबाट लयमा आएको काठमाडौं गुर्खाज र बलियो मानिएको सुदूरपश्चिम रोयल्स आमने–सामने हुँदैछन् । दुईमध्ये एक खेलमा जित र अर्कोमा हार ब्यहारेको काठमाडौं ‘बलियो टोली’ सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ ।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । बुधबार भएको दोस्रो खेलमा भने काठमाडौंले कर्णाली याक्समाथि रोमाञ्चक जित हात पार्यो ।
यता सुदूरपश्चिम पहिलो खेलमा विराटनगर किंग्सलाई फराकिलो अन्तरले हराउँदाको लय काठमाडौंविरुद्ध पनि कायम राख्न चाहन्छ ।
काठमाडौंको कप्तानी करण केसीले तथा सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।
पुस ६ गतेसम्म चल्ने एनपीएलमा आठ टोलीको सहभागिता छ । डबल राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । ती दुईबीच उपाधि भिडन्त हुनेछ ।
Facebook Comment
Comment