काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंबाट चितवन पुर्याइएको छ ।
सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज (मंगलबार) बयानका लागि चितवन लगिएको हो ।
लामिछानेलाई जहाजमार्फत चितवन लगिएको थियो । उनलाई करिब बिहान सवा १० बजेतिर चितवन पुर्याइएको हो ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेको सोमबार काठमाडौंमा बयान सकिएको थियो ।
सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका उनको बयान तीन दिनमा सकिएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई भैरहवा लगेर पनि बयान लिइएको थियो ।
कात्तिक २ मा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।
अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ ।
Facebook Comment
Comment