प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

नेपालभ्युज

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) उत्तरी छिमेकी देश चीनको भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीसहितको टोली बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गर्ने बताइएको छ ।

उनले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने उनको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग समेत भेट गर्ने तालिका छ ।

साथै, उनी अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस भ्रमणका लागि स्वीकृति दिएको थियो ।

शुक्रबार परराष्ट्र मन्त्रायलले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चारदिने चीन भ्रमणको घोषणा गरेको थियो । त्यसतर्फ जानुभन्दा तीन दिनअघि मात्र ढिलोगरी भ्रमणको मिति घोषणा गरिएको हो ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिलगायत हुनेछन् । प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्किने छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्रीहरूलगायतसँग परामर्श गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved