काठमाडौं । रोल्पामा झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने पुल निर्माणमा खटिएका मजदुर पुरिएका हुन् । मृतकमा तीन पुरुष र दुई महिला छन् ।
आइतबार १० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा माथिबाट खसेको पहिरोले मजदुरलाई पुरेको थियो ।
पुरिएर सोही ठाउँमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुमित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको परिवारले जनाएको छ । उनीहरू सबै एकै गाउँका हुन् ।
पहिरो झरेका बेला ७ जना मजदुरले काम गरिरहे पनि दुईजना भागेका थिए । उक्त पुल बनाउन एलबीएन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले ठेक्का लिएको थियो ।
घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।
Facebook Comment
Comment