काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरे ।
अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
“मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो”, प्रधानमन्त्री ओलीले भने, “घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ । नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाइपाइकन पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ । त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनुहुँदैन । असल मार्गमा हिँड्न सक्नुपर्छ ।” रासस
Facebook Comment
Comment