तेहरान । सिरियाली सरकारी फौज र जिहादीहरूबीचको झडपका क्रममा बिहीबार सिरियामा इरानको रिभोलुसनरी गार्ड्सका एक जनरलको ज्यान गएको इरानी समाचार एजेन्सीले जनाएको छ ।
उत्तरी सिरियामा जिहादी र सेनाबीच यस हप्ता वर्षौंको सबैभन्दा खराब लडाइँ सुरु भएको हो ।
तेहरान सन् २०११ मा सुरु भएको गृहयुद्धमा सिरियाली राष्ट्रपति बशर अल–असदलाई सैन्य सल्लाहकार प्रदान गर्दै कट्टर सहयोगी बनेको छ ।
‘अलेप्पोमा रहेका इरानका वरिष्ठ सल्लाहकारमध्ये एक जनरल किउमर्स पौरहसेमी तकफिरी आतङ्कवादीका भाडाका सैनिकहरूले गरेको आक्रमणमा मारिनुभएको थियो,’ तस्निम समाचार एजेन्सीले भनेको छ ।
शिया बहुल इरानमा ‘तकफिरी’ शब्दले सामान्यतया जिहादी वा कट्टरपन्थी सुन्नी इस्लामका समर्थकहरूलाई जनाउँछ ।
अल–कायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा हयात ताहरिर अल–शाम (एचटीएस)ले बुधबार अलेप्पो प्रान्तमा सेनामाथि आश्चर्यजनक आक्रमण गरेको सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
लडाइँले १४० भन्दा बढी लडाकूको ज्यान लिएको बेलायतस्थित युद्ध पर्यवेक्षकले जनाएको छ ।
रिभोलुसनरी गार्ड्सले उनलाई सन् १९८० को दशकको इरान–इराक युद्धका दिग्गजको रूपमा पहिचान गर्दै ‘इराक र सिरियाका सैन्य सल्लाहकार’को मृत्यु भएको पुष्टि गरेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले सिरियामा भड्किएको घटना अमेरिका र इजरायलको ‘क्षेत्रको स्थिरता र सुरक्षामा बाधा पुर्याउने योजना’को हिस्सा भएको बताए ।
Facebook Comment
Comment