काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रमबीच क्यानले यूएई जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायत राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो ।
क्षमताअनुरुप जिम्मेवारीपूर्वक प्रतिस्पर्धा गर्न क्यानका सचिव पारस खड्काले टोलीलाई आग्रह गरे ।
छोटो समयमा पनि क्यानले कर्नाटक टोलीसँग अभ्यास खेलको आयोजाना गर्दै उत्कृष्ट सपोर्टिङ स्टाफ दिएकोमा पनि मुख्य प्रशिक्षक शक्ति गौचनले क्यानलाई धन्यवाद दिए ।
‘नतिजा हाम्रो हातमा नभएपनि उत्कृष्ट नतिजा दिनको लागि हामी तयार छौँ । नेपाली क्रिकेटलाई उचाईंमा पुर्याउने सक्दो प्रयास गर्ने छौँ,’ मुख्य प्रशिक्षक गौचनले बताए । कप्तान हेमन्त धामीले टोलीले १५ दिनको बन्द प्रशिक्षण गरेको बताए ।
यसअघि प्रतियोगिताका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।
क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
५० ओभरको खेल एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । मंसिर १४ गते नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत: छनोट भएका थिए ।
यूएई, नेपाल र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष-३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै समूह ‘बी’मा रहेका छन् ।
समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।
नेपाली टोली-
हेमन्त धामी, अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार ।








Facebook Comment
Comment