काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ ।
आज (मंगलबार) बिहान साढे ९ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
‘हालसम्म काठमाडौं प्रहरीबाट कुनै कागजात र हवाई टिकट प्राप्त भएको छैन,’ कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले नेपालभ्युजसँग भने ।
लामिछानेलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर त्यसमा ढिलाइ भइरहेको छ ।
उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि काठमाडौं ल्याउन लागिएको यसअघि काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको थियो ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् ।
आइतबार मात्रै कास्की जिल्ला अदालतले उनलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । यसपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
लामिछानेलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने बताइएको छ ।
पोखराको सूर्यदर्शनलगायत सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।
Facebook Comment
Comment