काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको जापान भ्रमण स्थगित भएको छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तय भएको परराष्ट्रमन्त्री राणाको भ्रमण स्थगित भएको हो ।
जापान भ्रमण स्थगित भएसँगै परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि १३ मंसिरमा सिधै चीन जाने कार्यतालिका तय भएको छ ।
परराष्ट्रमन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले साेमबार दिएको जानकारीअनुसार चिकित्सकको समय नमिलेका कारण राणाले जापान भ्रमण स्थगित गरेर सिधै चीन जाने निर्णय गरेकी हुन् ।
‘स्वास्थ्य परीक्षणका लागि जापान तय भएको थियो, तर चिकित्सकको समय उपलब्ध नहुने भएपछि अहिलेलाई नजाने हुनु भएको छ’, पाठकले भने, ‘अब उहाँ प्रधानमन्त्रीकाे भ्रमण तयारीका लागि सिधै १३ गते चीन जाने हुनु भएको छ ।’
यसअघि आजै जापान जाने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यसूची बनेको थियो । पाठकका अनुसार द्विपक्षीय भ्रमणका लागि राणा १३ मंसिरमा बेइजिङ प्रस्थान गरेपछि १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम छ ।
त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुनसक्ने सम्भावना बढी छ । प्रधानमन्त्री ओलीकाे चिनियाँ समकक्षीको निम्तोमा १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जाने तयारी तीव्र रूपमा चलिरहेको छ ।
दुवै देशले औपचारिक रूपमा भ्रमणको मिति तय गरेका छैनन् । तर प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने मंसिर १७ का लागि मिति तय भएको नेपालभ्युजलाई जानकारी दिए ।
Facebook Comment
Comment