काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा राकिएको छ । आइतबार राति भएको खेलमा युनाइटेड इपस्विच टाउनसँग १–१ गोलको बराबरीमा राकिएको हो ।
घरेलु टोली इपस्विच ३० हजार समर्थकमाझ पार्टमन रोडमा भएको खेलमा ठूलो टोली युनाइटेडसँग अंक खोस्न सफल भयो । यद्यपि खेलमा अग्रता भने भ्रमणकारी टोली युनाइटेडले लिएको थियो ।
खेलको दोस्रो मिनेटमै मार्कुस रसफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ४३औं मिनेटमा इपस्विचका ओमारी हुटचिनसनले बराबरी गोल गरेका हुन् ।
बराबरीपछि १२ खेलबाट १६ अंक जोडेको युनाइटेड लिगको १२औं स्थानमा छ । इपस्विच ९ अंकसहित रेलिगेसन क्षेत्र अर्थात् १८औं स्थान छ ।
यता लिग लिडर लिभरपुलले घरेलु टोली साउथह्याम्पटनविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
मोहम्मद सलाह ।
सेन्ट म्यारी रंगशालामा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई र डोमिनिक स्जोबोस्जलाईले एक गोल गरे । साउथह्याम्पटनका लागि एडम आर्मस्ट्रङ र म्याथ्यु फर्नान्डेसले गोल फर्काएका थिए ।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले जितसँगै १२ खेलमा ३१ अंक जोडेको छ । पराजित साउथह्याम्पटन समान खेलबाट चार अंकका साथ लिगको पुछारमा छ ।
Facebook Comment
Comment