काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेसी फेरि भारत आउने भएपछि भारतीय जनता खुसी भएका छन् । भारतभर माहोल तातेको छ । भारतीय सञ्चारमाध्यमले पनि यसलाई प्राथमिकताका साथ समाचार बनाइरहेका छन् ।
मेसीको कप्तानीमा रहेको विश्वविजेता अर्जेन्टिनी टोलीले आगामी वर्ष (सन् २०२५)मा भारतको केरालामा आएर दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । तीन पटकको विश्वविजेता अर्जेन्टिनाको प्रतिद्वन्द्वी को हुने र खेल कुन मैदानमा हुने टुंगो भने लागेको छैन ।
जे होस् मेसी आउने निश्चित भएको केरला राज्यका खेलमन्त्री वी अब्दुरहिमानले बताइसकेका छन् ।
भारतसँग मेसीको एउटा संयोग छ । मेसी अर्जेन्टिनाको कप्तान नियुक्त भएपछि उनकाे पहिलो खेल भारतबाटै सुरु भएको थियो । सन् २०११ मा मेसीले भारतीय भूमिमा पहिलो पटक औपचारिक कप्तानी गरेका हुन् ।

कोलकातामा भएको भेनेजुएलासँगको सो खेल अर्जेन्टिनाले १–० गोलअन्तरले जितेको थियो । मेसीकै पासमा निकोलस ओटामेन्डीले निर्णायक गोल गरेका थिए ।
त्यसो त मेसीले त्यसअघि पनि कार्यवाहक कप्तानीको जिम्मेवारी सम्हालेका थिए । सन् २०१० को विश्वकपमा ग्रीसविरुद्ध उनी पहिलोपटक कार्यवाहक कप्तान बनेका थिए । २–० ले जित निकालेको सो खेल चर्चित छ ।
सन् २०११ को जुलाई १६ मा घरेलु मैदानमै भएकाे कोपा अमेरिकाको क्वार्टरफाइनलमा उरुग्वेसँग पराजित भएर अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसपछि जाभियर मास्चेरानोलाई हटाएर मेसीलाई कप्तान नियुक्त गरिएको थियो । त्यसलगत्तै अर्जेन्टिनाले भारत भ्रमण गरेको थियो ।
भारतपछि अर्जेन्टिनाले बंगलादेशको भ्रमण गरेको थियो । त्यहाँ उसले नाइजेरियासँग मैत्रीपूर्ण खेलेको थियो । सो खेल पनि अर्जेन्टिनाले ३–१ ले जित्यो ।
हाल अमेरिकी क्लब इन्टर मायमीमा आबद्ध मेसीका भारतमा करोडौं फ्यान छन् । सबैभन्दा बढी हुनेमा केरला पनि पर्छ ।
Facebook Comment
Comment