प्रधानमन्त्री जोडिएको विषयमा छानबिन गर्न रास्वपाको माग

नेपालभ्युज

प्रधानमन्त्री जोडिएको विषयमा छानबिन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा छानबिन गर्न माग गरेको छ ।

रास्वपाले बुधबारको केन्द्रीय समिति बैठकपछि एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरेको हो ।

ओलीको कम्बोडियामा लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक विवादास्पद भिडियो सार्वजनिक गरेपछि प्रसाईँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यस्तै बैठकले सहकारी पिडितले राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको घोर भर्त्सना गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

‘आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो । पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो’ रास्वपाले विज्ञप्तिमा भनेको छ,’यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ । तसर्थ सहकारी पीडितका मुद्दा समाधान तथा दोषी उपर अबिलम्ब कानुनी कारवाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

बैठकले पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरुको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुको स्थानीयकरणमा केन्द्रीत हुने निर्णय गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved