इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

नेपालभ्युज

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले ध्यानाकर्षणपत्र बुझाइएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्ट रूपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ । ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरूको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट पारे । उनले तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणपत्रमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे । “हामी विश्वशान्तिका पक्षमा छौँ । कुनै शक्तिविरुद्ध आफैँ लड्न जाँदैनौँ । कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ”, प्रधानमन्त्री ओलीले भने, “हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानव अधिकारको रक्षामा हुनेछौँ ।”

भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी)का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रूपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved