बेइजिङ पुगेर राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले भनिन्– नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

नेपालभ्युज

बेइजिङ पुगेर राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले भनिन्– नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबीच मंगलबार भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरबीच राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउँदै नेपालको भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ,’ उनले भनिन्, ‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौँ ।’

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने उल्लेख गर्दै भेटले नेपाल–चीन सम्बन्धबारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हितका लागि सहयोग गर्ने विषयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताइन् ।

कृषि, जलविद्युत् र पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल, निर्यात प्रवर्द्धधन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटनका क्षेत्रहरू नेपालको प्रमुख विकास प्राथमिकता रहेको बताउँदै उपाध्यक्ष घिमिरेले चिनियाँ लगानीकर्तालाई नेपालको कृषि, पर्यटन, पूर्वाधार औद्योगिक क्षेत्रमा लगानीका लागि आग्रह गरिन् ।

उनले नेपालको प्रमुख पर्यटकीय सहर पोखरामा चीनको सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सोझो हवाई उडान सञ्चालन गर्न सकेमा त्यसले नेपालको पर्यटन र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उपाध्यक्ष घिमिरेले आगामी दिनमा संसदीय प्रतिनिधिमण्डलका द्विपक्षीय भ्रमण बढाउने, नेपालका सङ्घीय संसद्मा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि र भौतिक स्रोतसाधनले सुविधा सम्पन्न बनाउन चीनको सहयोगको अपेक्षा गरेको बताइन् ।

भेटका क्रममा चीनको जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरले चीनले नेपालमा राजनैतिक स्थिरताको पक्षमा रहेको बताउँदै नेपालमा दैवीप्रकोपमा भैरहेको सहयोग, पूर्वाधार निर्माण र पर्यटन तथा कृषि क्षेत्रको आधुनिकीकरणमा सघाउन कुनै कन्सुस्याइँ नहुने प्रतिबद्धता जनाए ।

उनले नेपालको सङ्घीय संसद् र चीनको जनराजनैतिक परामर्शदातृ सम्मेलनका बीचमा संसदीय अनुभव आदानप्रदानलाई निरन्तरता दिने र छिट्टै नेपालको संसदीय प्रतिनिधिमण्डललाई आमन्त्रण गर्ने जानकारी गराए ।

उपाध्यक्ष बातरले गएको जुन दोस्रो साता नेपाल भ्रमण गरेका थिए । उनले चिनियाँ पर्यटक नेपाल जान चाहने उल्लेख गर्दै पोखरा र भैरहवा विमानस्थलमा सिधा उडानका लागि परामर्श भइरहेको छ भने । ‘केरुङ–काठमाडौं रेलमार्गको डीपीआर भइसकेकाले निर्माणका लागि नेपाल सरकारले नै वातावरण बनाउन आवश्यक छ,’ उनले थपे । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved