काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट प्रहरीले ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार उनको घरमा खनतलासीका क्रममा ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको हो । उनको घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएका विद्युतीय सामग्रीलाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी गरेको जनाएको छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।
उनीमाथि विभिन्न मुद्दा परेको कारण कुनमा कारबाही अगाडि बढाउने भन्नेबारे निर्णय भइसकेको छैन । आज उक्त विषयमा छलफल गरेर भोलि अदालतमा पेस गरिने प्रहरीको उच्च स्रोतले जनाएको छ ।
उनलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
उनले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।
यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
Facebook Comment
Comment