पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ सैनिकको मृत्यु हुनुका साथै सातजना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।
खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा आठ सैनिक र नौ ‘आतङ्कवादी’ मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।
पाकिस्तानी तालिबान (टीटीपी)ले यस घटनाको जिम्मेवारी लिएको छ ।
तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सातजना प्रहरी अधिकारीलाई अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हातहतियार पनि जफत गरेका थिए ।
अफगानिस्तानसँगको सीमानामा टीटीपीको आक्रमण बढेको बताउँदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरेका छन् ।
तालीवान समूहले अक्टोबर–२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो ।
यसअघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा–१४ जना सैनिकसहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरूले सातजना सैनिकको हत्या गरेका थिए ।
Facebook Comment
Comment