चिया निर्यात बढेसँगै मूल्यमा वृद्धि

नेपालभ्युज

चिया निर्यात बढेसँगै मूल्यमा वृद्धि

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२.१६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

उनका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशतले बढेको छ ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म चार अर्ब ७२ करोड सात लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved