काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।
यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा मंगलबार भएको खेलमा कप्तान पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् ।
कुवेतविरुद्ध उनले शतक मात्र प्रहार गरिनन्, बलिङको क्रममा आफ्नो फाइफर पनि पूरा गरिन् ।
२१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो । कुवेतका लागि जिफा जिलानीले ३६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान पूजाले पाँचौं ओभरको चौथो बलमा पहिलो विकेट लिइन् । त्यसपश्चात नवौं ओभरमा ४ विकेट लिइन् । सो ओभरको पहिलो, दोस्रो, चौथो र पाँचौं बलमा विकेट लिइन् ।
यस्तै, सीमा केसीले र रचना कुमारी चौधरीले २–२ विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।
नेपालका लागि पूजाले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरिन् ।
पूजाले प्रहार गरेको शतक प्रतियोगिताको नै पहिलो शतक हो । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर ९९ थियो । गत आइतबार भएको खेलमा यूएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिइन् ।
गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक प्रहार गरेकी थिइन् । सो खेलमा रुबिनाले ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।
जुन महिला खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन पनि थियो । जसलाई पूजाको रनले पछि पारेको छ । यू-१९ महिला क्रिकेटमा भने पुजाको शतक नै पहिलो शतक हो ।
सोनी पाख्रीनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाइन् । सोनीले ३३ बलमा २ छक्का प्रहार गरेकी थिइन् । साना प्रविनले ६ रन बनाइन् ।
कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले १–१ विकेट लिए ।अब बुधबार नेपाल र यूएई आमने सामने हुनेछन् ।
डबल राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले अर्को वर्ष मलेसियामा हुने विश्व कपमा स्थान पक्का गर्नेछ ।
Facebook Comment
Comment