जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीन वटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख रुपैयाँ मूल्य बराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो ।
कार्यालयले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।
गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार रुपैयाँ कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए ।
सहुलियत दरका सो पसलबाट २४ रुपैयाँ प्रतिप्याकेट तथा सोझै डिलरमार्फत २६ प्रतिप्याकेट रुपैयाँ नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए ।
Facebook Comment
Comment