विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी रहेको नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले टिप्पणी गरे । उनले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने स्पष्ट पारे ।
सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि ? भन्ने प्रश्नमा उनले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्किएका थिए । –रासस
Facebook Comment
Comment