काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सको लोगो समर्थकहरूले प्रसिद्ध धार्मिक स्थल र अमेरिकामा प्रदर्शन गरेका छन् ।
भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ र अमेरिकाको टाइम्स स्क्यायरमा ‘कर्णाली याक्स’को सफलताको कामना गर्दै समर्थकले लोगो प्रदर्शन गरेका हुन् ।
हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सलाई समर्थन गर्दै चितवनका सागर भट्टराईले केदारनाथ पुगेर टोलीको लोगो देखाएका हुन् । उनले नेपाल प्रिमियर लिगका लागि सफलताको शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘कर्णाली याक्सले एनपीएल खेल्दैछ । उपाधि जितको लागि शुभकामना दिन चाहन्छु ।’
यता अमेरिकामा दिनेश शेर्पालीले साथीसँग मिलेर न्यूओर्कस्थित टाइम्स स्क्वायरमा कर्णालीको लोगो प्रदर्शन गरेका हुन् । उनी पनि एनपीएलका लागि कर्णालीको समर्थनमा जुटेका छन् । एनपीएलको माहोल बढ्दै जाँदा समर्थकले कर्णाली याक्सप्रति देखाएको सद्भावदेखि सह–मालिक गृहेन्द्र घिमिरे कृतज्ञ छन् ।
‘कर्णाली याक्सप्रति समर्थकले जुन प्रकारको माया देखाउनुभएको छ, यसले हाम्रो टिमलाई थप हौसला बढाएको छ । यो कार्यले एनपीएलको माहोल बढाएको जस्तो लाग्छ । यस्ता कार्यले क्रिकेटमा लगानी गर्न आउने नीति क्षेत्रलाई पनि प्रोत्साहन हुनेछ, ’ सहमालिक घिमिरले बताए ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सले मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व खेलाडी ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरिसकेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।
कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएपल खेल्ने पक्का भइसकेको छ । यस्तै, नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
क्यानका सचिव पारस खड्काले कर्णाली याक्सको माहोल कर्णालीमा मात्रै नभएर काठमाडौंमा पनि बढ्दै गएको बताएका थिए ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
Facebook Comment
Comment