मधेसमा फूलको बिक्री बढ्यो : दशैं, तिहार र छठमा मात्रै पाँच करोडको किनबेच

नेपालभ्युज

मधेसमा फूलको बिक्री बढ्यो : दशैं, तिहार र छठमा मात्रै पाँच करोडको किनबेच
छठमा प्रयोग भएको फूलको माला ।

जनकपुरधाम । यस वर्षको दशैं, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।

पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए ।

उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो ।

भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।

विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ ।

जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन् भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ ।

कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौं गौशालामा थोक व्यापार गर्दै आएका ७० वर्षीय रामदयाल माली भण्डारीले बताए । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष रु २० लाखको फूल बिक्री गरेको जानकारी दिए ।

नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरू बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved