काठमाडौं । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैंकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आईएमई बैंक विजयी भएको हो ।
ग्लोबल आईएमई बैंकले उपाधिसँगै ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको एनएमबि बैंकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
विभिन्न २९ टोलीबीच भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन शनिबार १६ टोलीबीच क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल भएको थियो ।
प्रतियोगितामा ग्लोबल आईएमईका बमबहादुर भुजेल सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भने सोही बैंककै दुर्गा ओली १८ गोल गर्दै सर्वाधिक गोलकर्ता भए ।
यसैगरी सर्वोत्कृष्ट गोलकिपरमा ग्लोबल आईएमईकै हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडी सोही बैंककै दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ ।
उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए । खेलको उद्घाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकालले गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सहप्रायोजकमा ग्लोबल आईएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका थिए ।
Facebook Comment
Comment