काठमाडौं । एनपिएलको सबैभन्दा महंगाे टिम पाेखरा एभेन्जर्सले आफ्नो जर्सी विशेष कार्यक्रमका बीच मुस्ताङको लाेमान्थाङबाट सार्वजनिक गरेको छ ।
टिमका प्रमुख सल्लाहकार तथा मेन्टर जोन्टी रोड्सले यस जर्सीको अनावरण गरेका हुन् । यो कार्यक्रमलाई जलवायु परिवर्तन र दिगो पर्यटन प्रवर्द्धनमा केन्द्रित गर्दै गरिएकाे थियो ।
पाेखरा एभेन्जर्सका अध्यक्ष सुबाेध त्रिपाठीका अनुसार यस कदमले हिमालय क्षेत्रको पग्लिरहेकाे हिउँको समस्या र हिमालय पर्यटनको महत्त्वलाई उजागर गर्न महत्वपूर्ण सन्देश दिनेछ ।
त्रिपाठीले भने, “हामी गण्डकीमा हिम श्रृङ्खलाकाे पर्यटन प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको खतरालाई विश्वभर पुर्याउन चाहन्छौं ।”
कार्यक्रममा जोन्टी रोड्सले भने, “पाेखरा संग आबद्ध हुँदा उत्साहित छु । मेरो अनुभवले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन मद्दत पुग्नेछ।”
उनले नेपालमा क्रिकेटकाे उज्ज्वल भविष्य रहेकाे विश्वास व्यक्त गरे ।
पाेखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले पर्यटनका लागि यो कार्यक्रमले सकारात्मक असर पार्ने बताएका छन् ।
उनले भने, “लाेमान्थाङमा जर्सी अनावरण गर्नु पर्यटनका लागि निकै राम्रो हाे। जलवायु परिवर्तन र दिगाे विकासलाई एकसाथ जाेडिनु मेरो लागि गर्वको विषय हो।”
कार्यक्रममा गण्डकीमा एक र्याली पनि आयोजना गरिएकाे थियो, जसमा स्थानीयको उत्साही सहभागिता देखिएको थियो । पाेखराकाे अफिसियल गीत बजाइएको र सन्दीप क्षेत्रीले जाेन्टी राेड्ससँग संक्षिप्त कुराकानी पनि गरेका थिए ।
क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको उन्नतिमा यो कार्यक्रमले योगदान पुर्याउने विश्वास व्यक्त गर्दै पाेखरा एभेन्जर्सलाई जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने प्रयासका लागि धन्यवाद दिए ।
त्यस्तै, १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काकाे परिपूरक भएको उल्लेख गर्दै जलवायु परिवर्तनलाई ध्यानमा राख्दै सहयाेग गर्न सबैलाई आह्वान गरे ।
Facebook Comment
Comment