पोखरा विमानस्थलमा आठौं पटक अन्तर्राष्ट्रिय उडान

नेपालभ्युज

पोखरा विमानस्थलमा आठौं पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ ।

पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको हो । यो सहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि हालसम्म आठौँ पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीका अनुसार सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान एक सय २० यात्रुसहित आज दिउँसो २ बजे पोखरा अवतरण गरेर ३ बजेर ४० मिनेटमा चीनको कुनमिङ उडेको थियो । यद्यपि, यो विमानस्थलमा विभिन्न चार्टर्ड उडान भएपनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुनसकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो । विसं २०८० असार ६ गते सिचुवान एयरलाइन्सले पोखरामा पहिलो चार्टर्ड उडान गरेको थियो । उक्त एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान भरेको हो ।

खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पर्यटकीय राजधानी पोखरामा यही कात्तिक २४ गतेदेखि हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत आएका हुन् । ‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने छन् ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक रहेका छन् । हिमालयन टुरिज्जम फोरमले कार्यान्वयन गर्ने उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाहरुले प्रतियोगितालाई सघाउने बताइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved