पोखरा एभेन्जर्सद्वारा पोखरेलीको समर्थन जुटाउन र्‍यालीको आयोजना, जोन्टी रोड्स पनि सहभागी

नेपालभ्युज

पोखरा एभेन्जर्सद्वारा पोखरेलीको समर्थन जुटाउन र्‍यालीको आयोजना, जोन्टी रोड्स पनि सहभागी

पोखरा । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरेलीको समर्थन जुटाउन पोखरामा र्‍यालीको आयोजना गरेको छ ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गर्दै जनसमर्थन जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।

दक्षिण अफ्रिकाका प्रख्यात खेलाडी र पोखरा एभेन्जर्सका सल्लाहकार जोन्टी रोड्सको उपस्थिति र पोखरेली क्रिकेटप्रेमीहरुको साथले र्‍यालीलाई अझ प्रभावशाली बनायो ।

गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथसहित अन्य नौवटा संघसंस्थाहरुले ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाएका थिए ।

राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्सको लोगो अंकित झण्डासहित फिसटेल गेटबाट सुरू भएको यो र्‍याली बैदाम, हल्लनचोक, जरेबर, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल, रानिपौवा, हस्पिटल चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक हुँदै पुनः फिसटेल गेटमा समापन भएको थियो ।

पोखरा एभेन्जर्सका चेयरमेन सुवोध त्रिपाठीले नेपाली क्रिकेटप्रति युवाहरुको चासो र समर्थन बढाउन यस्तो प्रकारका कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए ।

उनले भने, “यस कार्यक्रमले नेपालको मात्रै नभई समग्र गण्डकी प्रदेशको क्रिकेट विकासमा नयाँ आयाम थपेको छ। पोखरा एभेन्जर्सलाई मायाँ र समर्थनका लागि म सबैलाई आह्वान गर्दछु ।”

क्रिकेटलाई उद्योगको रुपमा स्थापित गर्न चाहन्छौं : अध्यक्ष, त्रिपाठी

त्यस्तै, गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा एभेन्जर्सको समर्थनमा जोड दिँदै जोन्टी रोड्सको उपस्थितिले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

टिमका सहायक प्रशिक्षक रिजन प्रजुले पनि जोन्टी रोड्सको सहभागिताले पोखरा एभेन्जर्सको मनोबललाई थप उच्च बनाएको उल्लेख गरे ।

पोखरा एभेन्जर्समा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलका साथै विदेशी खेलाडीहरू म्याट क्रिचली (इंग्ल्यान्ड), एन्डर्सन फिलिप (वेस्ट इन्डिज), आन्द्रेस गौस (अमेरिका), र बास डि लिडे (नेदरल्यान्ड्स) अनुबन्ध भइसकेका छन् ।

नेपाली खेलाडीहरुमा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, र अमृत गुरुङ छन् ।

मुख्य प्रशिक्षकको रूपमा चेन्नई सुपरकिङ्सका पूर्व ब्याटिङ र फिल्डिङ प्रशिक्षक राजिव कुमारलाई अनुबन्ध गरिएको छ ।

नेपाल प्रिमियर लिग आगामी मंसिर १५ देखि पुस ६ सम्म पोखरामा आयोजना हुँदैछ, जसमा पोखरा एभेन्जर्सले उच्च जोशका साथ सहभागिता जनाउने तयारी गरिरहेको छ ।

जोन्टीको प्रशिक्षण सुरु

क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा पुगेका थिए । एनपीएलमा पोखरा एभेन्जर्सको मेन्टर नियुक्त भएका जोन्टी बुधबार नेपाल आइपुगेका थिए ।

एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतामा अनुबन्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जोन्टी र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पोखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए ।

टिमका लागि समर्थन जुटाउन बिहीबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत ९ वटा संघसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाउन उनी पोखरा पुगेका हुन् । फेवातालस्थित फिस्टेल होटलबाट बिहान ८ बजे देखि सुरु हुने मोटरसाइकल र्‍यालीमा सयौँको सङ्ख्यामा समर्थकहरू सहभागी हुने तयारी रहेको पोखरा एभेन्जर्सले जनाएको छ।

पोखरामा जोन्टीसहितको टिमलाई प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए । आगामी तीन वर्षका लागि सम्झौता गरेको पोखरा एभेन्जर्सका टिम मेन्टर जोन्टी दक्षिण अफ्रिकी दायाँ हाते व्याट्म्यान हुन् ।

अब जोन्टी बिहीबार काठमाडौं फर्किएर टिमका खेलाडीलाई प्रशिक्षण दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved