भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, दुबै पाइलट सकुशल

नेपालभ्युज

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, दुबै पाइलट सकुशल

काठमाडौं – भारतीय वायुसेनाको मिग–२९ लडाकु विमान दुर्घटनामा परेको छ ।

उक्त विमान सोमबार उत्तर प्रदेशको आग्रानजिक दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन् । ‘पाइलट र सह–पाइलट दुबै इजेक्ट गर्न सफल भए र दुर्घटनास्थलबाट करिब दुई किलोमिटर टाढा रहेका क्षेत्रहरूमा सुरक्षित उत्रे,’ इन्डिया टीभी न्युज डट् कमले लेखेको छ ।

यो दुर्घटना पञ्जाबको अदमपुरबाट उडेको मिग–२९ विमान अभ्यासका लागि आग्रा जाँदै गर्दा भएको थियो । उक्त दुर्घटना सोनिगा गाउँ र कागारौल नजिकको खाली खेतमा भएको हो ।

दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ । जहाँ विमान पूरै जलेको देख्न सकिन्छ ।

‘बारमेर क्षेत्रको नियमित रात्रि प्रशिक्षण उडानमा मिग–२९ विमानमा प्राविधिक समस्या देखिएपछि पाइलटले इजेक्ट गर्नुपर्ने अवस्था आएको थियो,’ भारतीय वायुसेनाले भनेको छ, ‘पाइलट सकुशल छन् र यसलाई ठूलो क्षति भन्न मिल्दैन । यद्यपि अनुसन्धानका लागि कोर्ट अफ इन्क्वायरी आदेश गरिएको छ ।’

मिग–२९ विमान दुर्घटनामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि २ सेप्टेम्बरमा राजस्थानको बारमेरमा मिग–२९ विमान प्राविधिक कारणले दुर्घटनाग्रस्त बनेको थियो । सो घटनामा पनि पाइलटले समयमै इजेक्ट गरेर आफ्नो जीवन जोगाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved