उत्तराखण्ड बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

नेपालभ्युज

उत्तराखण्ड बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

देहरादुन– भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ ।

प्रहरी अधिकारीका अनुसार उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो ।

दुर्घटनामा थप केही व्यक्ति घाइते भएको र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाई उद्धार गरी देहरादून लगिएको छ ।

सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्वीरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ ।

उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, ‘अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ सहयोगस्वरुप दिने जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जङ्गलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन् ।

भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पुराना यातायातका साधन र चालकको लापरबाहीका कारण हुने दुर्घटनाका कारण हरेक वर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved